रवि लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा चलाउने तयारी

२०८१ आश्विन ६, आईतवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा चलाउने तयारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा अगाडि बढाउने तयारी भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीमा यी कसुरमा मुद्दा अगाडि बढाउने र त्यसका लागि सहकारी छानविन समितिको प्रतिवेदन पठाइने प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दिएको छ ।

गृहमन्त्रीबाट बाहिरिएपछि प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान थालेको हो । जाहेरी परेको केही समयमै लामिछाने गृहमन्त्री भएपछि अनुसन्धान नै प्रभावित भएको थियो । तर, संसदीय समितिको प्रतिवेदनपछि छानविन तीव्र बनेको हो । ‘कास्कीबाट मुद्दा अगाडि बढाउनका लागि हामीले हेडक्वार्टरबाट प्रतिवेदनसहित पठाउनपर्छ । केही दिनमा प्रतिवेदन जिल्ला पठाउँछौँ । बाँकी त्यहाँ अनुसन्धान भइसकेको छ । अब छिट्टै मुद्दा लैजाने काम हुन्छ,’ प्रहरी उच्च स्रोतले भन्यो, ‘सम्पत्ति शुद्धीकरण विभागमा पनि मुद्दा चलाउन पठाउँछौँ ।’

सहकारी ठगी प्रकरणमा संलग्न अन्य सञ्चालक-पूर्वसञ्चालकविरुद्ध मुद्दा चलिसकेको छ । तर, लामिछाने तत्कालीन गृहमन्त्री भएका कारण उहाँविरुद्ध लामो समयसम्म प्रहरीले अनुसन्धान गर्न सकेको थिएन । सहकारी छानविन समितिले पूर्व–गृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल र जिबी राईलाई पनि कानुनी दायरामा ल्याउन सिफारिश गरेको छ । उनीहरूले सहकारीका बचतकर्ताको रकम अपचलन गरेको छानविन समितिको निष्कर्ष छ ।

समितिले गत सोमबार संसद्मा उक्त प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझेकै दिन सभामुखले कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए । मन्त्रिपरिषद् बैठकले पनि उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै गृह मन्त्रालयमा पठाएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार सम्बन्धित प्रहरी कार्यालयमा उक्त प्रतिवेदन पठाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार