इरानको कोइलाखानीमा विस्फोट, ५१ जनाको मृत्यु

२०८१ आश्विन ६, आईतवार

तेहरान : इरानको पूर्वी क्षेत्रको एक कोइलाखानीमा भएको विस्फोटमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ग्यास चुहावटका कारण विस्फोट भएको हो ।

दक्षिणी खोरासन प्रान्तमा भएको विस्फोटमा अन्य २० भन्दा बढी घाइते भएका छन् । राजधानी तेहरानबाट ५४० किलोमिटर दक्षिणपूर्वमा रहेको ताबासको खानीका दुईवटा ब्लकमा मिथेन ग्यास विस्फोट भएको हो । बीबीसीका अनुसार स्थानीय समयअनुसार शनिबार राति ९ बजे विस्फोट भएको हो ।

दक्षिणी खोरासानका गभर्नर जावद गेनातजादेहले विस्फोटको समयमा खानीमा ६९ जना कामदार रहेको बताए । ‘खानीमा विस्फोट भएको थियो र दुर्भाग्यवश मदनजु खानीको बी र सी ब्लकमा त्यतिबेला ६९ जनाले काम गरिरहेका थिए,’ समाचार संस्था एपीसँग उनले भनेका छन् । खानीभित्र कति मानिस अझै जीवित छन् र फसेका छन् भन्ने यकिन भइनसकेको उनको भनाइ छ ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । ‘मैले मन्त्रीहरूसँग कुरा गरेको छु र हामी फलोअप गर्न सक्दो प्रयास गर्नेछौं,’ पेजेस्कियानले भनेका छन् । ३० हजार वर्गकिमि क्षेत्रफलमा फैलिएको ताबास इरानको सबैभन्दा ठूलो कोइला खानी मानिन्छ ।

इरानको उत्तरी सहर दमघानमा रहेको कोइलाखानीमा गत वर्ष भएको विस्फोटमा ६ जनाको मृत्यु भएको थियो । त्यस्तै, २०१७ मा आजाद सहरस्थित खानीमा भएको विस्फोटमा ४७ कामदारले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार