बुटवल : रुपन्देहीको बुटवलमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको ज्यान गएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १३ भ्यू प्वाइन्टनजिकै लु ४१ प २०१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलचालक बुटवल उपमहान–११ बुद्धनगरका १९ वर्षीय विशाल परियार र मोटरसाइकलको पछाडि सवार दाङको राप्ती गाउँपालिका–२ का १८ वर्षीय दिनेश कुँवर छन् ।
रुपन्देही र पाल्पाको संगमस्थल बुटवलमाथि डाँडामा अवस्थित नुवाकोटबाट उनीहरू मंगलवार बिहान तल झर्दै थिए । सोही क्रममा मोटरसाइकल अनियन्त्रित भई सडकबाट ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए ।
उनका अनुसार घुम्तीबाट मोटरसाइकल खसेर गम्भीर घाइते भएका उनीहरूको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।





