बारा : ६ दिनदेखि हराइरहेका एक युवकको हत्या गरी खोला किनारमा फालिएकोअवस्थामा शव फेला परेको छ । हत्या रहस्यमय भएकाले अनुसन्धान भइरहेको भन्दै प्रहरीले घटनाबारे विस्तृत खुलाउन चाहेको छैन ।
वीरगन्ज छपकैयाका २६ वर्षीय वीरेन्द्र साह सोनारको शव बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार असोज २७ गतेदेखि घरबाट निस्केका युवकको ६ दिनपछि बाराको प्रसाैनी गाउँपालिका-१ त्रिवेणी खोला किनारमा टाउको पछाडि चोटपटक लागेको अवस्थामा शव फेला परेको हो ।
सोनारको घरमा कोठा भाडामा लिएर बस्ने एक भारतीय नागरिकसित युवक घरबाट निस्केपछि घर नफर्किंदा खोजतलास गर्दै जाँदा शव भेटिएको हो । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए ।