काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद सकिएको छ ।
कास्की जिल्ला अदालतले गत बिहीबार लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो, जसको कारण उनलाई कात्तिक १४ गतेसम्म थुनामा राख्नुपर्ने थियो । तर आजदेखि तिहार बिदा सुरु हुने भएकाले उनलाई सात दिने म्याद सकिएलगत्तै प्रहरीले अदालतमा उपस्थित गराउन नमिल्ने भएको छ । यससँगै उनको तिहार हिरासतमै बित्ने भएको छ ।
तिहार बिदापछि, अर्थात् कात्तिक २० गते मात्र सरकारी कार्यालयहरू खुल्नेछन् । त्यसैले प्रहरीले रविलाई कात्तिक २० मा अदालतमा उपस्थित गराउनेछ । यसमा फेरि म्याद थप्न वा नथप्ने बारेमा बहस हुनेछ । तिहारको बिदामा लामिछानेका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्न पनि सकिन्छ, जुन पर्वको समयमा पनि अदालतले हेर्नेछ ।





