काठमाडौँ : आईसीसी यू-१९ महिला विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल आज (शनिबार) घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई) सँग भिड्दै छ।
यूएईको अजमानस्थित द सेभेन्स स्टेडियममा नेपाली समयानुसार बिहान ११:१५ बजे सुरु हुने प्रतिस्पर्धामा नेपाल र यूएई दुवै टोली लगातार तेस्रो जितको खोजीमा हुनेछन्। जारी छनोट प्रतियोगितामा नेपाल र यूएई मात्र अपराजित छन्। आजको खेलमा यूएईलाई हराए नेपाल अंकतालिकाको शीर्ष स्थानमा उक्लनेछ।
दुई/दुई खेलबाट ४ अंक भए पनि यूएई पहिलो र नेपाल दोस्रो स्थानमा छन्। समान अंक भए पनि नेपाल नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा रहेको हो। समान दुई खेलमा हार भोगेका थाइल्यान्ड तेस्रो र कुवेत चौथो स्थानमा छन्।





