बेइजिङ : दक्षिणी चीनको झुहाई शहरमा सोमबार साँझ एउटा कारले पैदल यात्रुहरूलाई ठक्कर दिँदा ३५ जनाको मृत्यु भएको र ४३ जना घाइते भएको स्थानीय प्रहरीले मङ्गलबार जानकारी दिएको छ ।
सोमबार नै यो घटनाको जानकारी दिइएको थियो । तर त्यस बेला प्रहरीले केही मानिसहरू घाइते भएको मात्र बताएका थिए भने सामाजिक सञ्जालबाट घटनाका भिडियोहरू हटाइएको देखिन्थ्यो । तर मङ्गलबार प्रहरीले झुहाई खेलकुद केन्द्रमा ‘गम्भीर र दुर्भावनापूर्ण आक्रमण’ भएको र मृतकको सङ्ख्या ३५ पुगेको खुलासा गरेको छ । फान उपनामले चिनिने ६२ वर्षीय चालकले ‘एउटा सानो एसयुभी गेटबाट भित्र चलाएर शहरको खेलकुद केन्द्रमा प्रवेश गरी खेलकुद केन्द्रको भित्री सडकमा व्यायाम गरिरहेका मानिसहरूलाई ठक्कर दिएको’ प्रहरीले विज्ञप्तिमा जनाएको छ ।
प्रहरीले फानलाई आफ्नो कारमा चक्कुले आफैँलाई काटिरहेको अवस्थामा फेला पारी ‘तत्काल रोकेर उपचारका लागि अस्पताल पठाएको’ थियो । उनी हाल घाँटी र शरीरका अन्य भागमा आफैँले गरेको चोटका कारण कोमामा छन् र ‘सोधपुछका लागि असक्षम’ रहेको प्रहरीले बताएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचारका लागि ‘सम्पूर्ण प्रयास’ गर्न आग्रह गरेको र ‘कानून बमोजिम अपराधीलाई दण्डित गर्न माग’ गरेको सरकारी सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
बेइजिङको नागरिक र सैन्य एयरोस्पेस क्षेत्र प्रदर्शन गर्ने चीनको सबैभन्दा ठूलो एयर शो यही शहरमा आयोजना भइरहेको छ ।