कास्की : कास्की जिल्ला प्रहरी कार्यालयले पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलगायतको सम्पत्ति बेचबिखन र स्वामित्व हस्तान्तरणमा रोक लगाउन सरोकारवाला सबै निकायलाई पत्राचार गरेको छ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलगायतलाई हिरासतमा राखेरअनुसन्धान गरिरहेको कास्की प्रहरीले उनीहरूको सबै सम्पत्ति रोक्का राख्न सम्बद्ध निकायहरूलाई पत्राचार गरेको हो। नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार लामिछानेसहित सबै अभियुक्तको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार भइसकेको छ।
‘सहकारी ठगीका अभियुक्तहरूको बैंक खाता, सेयर, जग्गाजमिन लगायत सम्पत्ति कारोबार गर्न नमिल्ने गरी रोक्का गर्न पत्राचार गरिसकेका छौं,’ ती अधिकारीले भने। कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले भने यस विषयमा खुलाउन चाहेनन्। अभियुक्त उपर अनुसन्धान भइरहेकाले खुलाउन नमिल्ने उनको तर्क छ।





