काठमाडौँ : लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ।
गायीका तथा समाजसेवी आनी छोइङ डोल्मा, क्लबका ब्रान्ड एम्बासडर राजेश हमाल र क्लबका कप्तान रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन्।
लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्किने गरि जर्सीको डिजाइन गरिएको छ। गाढा नीलो रङ्गको जर्सीमा सुनौलो रङ्गको किनारा रहेको छ भने बाँया भागमा आक्रामक अवतारको सिंहको टाउको प्रतीक रहेको छ।
भगवान बुद्धको जन्मस्थानको रुपमा सुपरिचित लुम्बिनी नेपालको एक पवित्र बौद्ध तीर्थस्थल हुनुको साथै विश्व सम्पदा स्थल पनि हो।
विश्वका प्रमुख पवित्र धार्मिक स्थलहरू मध्ये लुम्बिनी एक हो, जसको भ्रमण गर्न बुद्धले आफ्ना अनुयायीहरूलाई सल्लाह दिएका थिए।
जर्सी अनावरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गायीका आनी छोइङ डोल्माले भनिन्, ‘आज हाम्राे लुम्बिनी लायन्सको जर्सी औपचारिक रुपमा लोकार्पण भएको छ, यसमा मलाई एकदमै खुशी लागेको छ । जसरी संसार भरका सबै मानिसहरको मन मस्तिष्कमा शान्ति फैलाउन भगवान बुद्धको भूमिका रहेको छ, त्यसैगरी लुम्बिनी लायन्सले पनि सबै जनाको मन मस्तिष्कमा विजय र गौरवको भावना महसुस गराउन सकोस् भन्ने कामना गर्दछु।’
जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै लुम्बिनी लायन्स क्लबका ब्रान्ड एम्बासडर राजेश हमालले भने, ‘क्रिकेटले नेपाली मनलाई जोड्ने पुलको रुपमा काम गरेको छ। आज यस लुम्बिनी लायन्सको जर्सी सार्वजनिक गर्दै गर्दा मलाई यस्तो लागेको छ कि यो जर्सी क्लबको पहिचान मात्र नभएर हाम्रा क्रिकेटरहरूको कडा परिश्रम, लगनशीलता र क्रिकेट प्रेमीहरूको अटुट साथको प्रतिविम्ब पनि हो। लुम्बिनी लायन्स क्लबमार्फत नेपाल प्रिमियर लिग एवं समस्त नेपाली क्रिकेटसँग जोडिएर युवा क्रिकेटरहरूको प्रतिभालाई नजिकबाट नियाल्न पाउँदा म अत्यन्तै उत्साहित छु।’
त्यस्तै, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले लुम्बिनी लायन्सको जर्सी लुम्बिनीबाटै सगौरव सार्वजनिक गरेको बताए। सम्पूर्ण लुम्बिनीवासीको भावना र लुम्बिनीको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई समेट्ने गरी जर्सीको डिजाइन गरेको बताए।
निलो रङ्गले सम्पूर्ण नेपालको शान्ति र समृद्धिको भावना बोकेको छ भने सुनौलो रङ्गले लुम्बिनी भित्र रहेको अखण्ड दीपको प्रतिनिधित्व गर्ने भएकाले जर्सीको सांस्कृतिक महत्त्व समेत बोकेको उनले बताए।





