काठमाडौं : ममता काफ्ले बेपत्ता भएको १२५औं दिनपछि उनका पति नरेश भट्टमाथि हत्या अभियोग लगाइएको छ । प्रिन्स विलियम काउन्टीको निर्णायक मण्डलले भट्टमाथि हत्या र शवलाई शारीरिक रूपमा अपवित्र गरेको दुईवटा आरोपमा अभियोग लगाएको हो ।
श्रीमती हत्यापछि शव लुकाएको आरोपमा गत २२ अगस्टमा पक्राउ परेका उनीमाथि यसअघि हत्या अभियोग लाग्ने–नलाग्ने अन्योल थियो ।प्रहरीसँगको बयानमा भट्टले श्रीमती ममताको हत्या तथा उनको शव लुकाएको कुरा अस्वीकार गर्दै आएका थिए । निरन्तरको इन्कारी बयानका कारण उनी चाँडै प्रहरी हिरासतबाट मुक्त हुने अनुमान गरिएको थियो । तर, हत्या अभियोग लागेसँगै हिरासतमुक्त हुने सम्भावना अब सकिएको छ ।
गत १६ साउन (२९ जुलाई)मा अमेरिकाको भर्जिनियाको मनाससस्थित घरबाट ममता बेपत्ता भएकी थिइन् । प्रहरीसँगको बयानका क्रममा उनले श्रीमती ममता जीवितै रहेको दाबीसमेत गरेका थिए । उनको यस दाबीले ममता जीवितै रहेको झिनो आशा त्यसबेला पलाएको पनि थियो । तर, ममताको हत्या भएको पुष्टि गर्दै उनका पति नरेशलाई सोमबार ग्रान्ड जुरीले हत्याको अभियोग लगाएको हो ।
मनासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले सोमबार राति पत्रकार सम्मेलन गर्दै उनी सुत्ने कोठा र स्नानगृहमा भेटिएको रगत ममताको डीएनएसँग मेल खाएको जानकारी दिएका थिए । बाथरुममा फेला परेको रगत ममताको डीएनएसँग म्याच भएपछि प्रहरीले नरेशमाथि हत्याको अभियोग लगाएको हो । यद्यपि, उनको शव भने फेला परेको छैन । शव फेला नपरे पनि उनका पति भट्टमाथि हत्या अभियोग लगाइएको हो ।
ममताको हत्या २९ जुलाई रातिदेखि ३० जुलाई बिहानको बीचमा भएको प्रहरीको अनुमान छ । शयनकक्षमा हत्या गरेपछि ममताको शवलाई बाथरुममा तानेको प्रहरीको आशंका छ । यति मात्रै नभई हत्यापछि ममताको शव टुक्राटुक्रा पारिएको पनि प्रहरीको आशंका छ ।





