अख्तियारले अनुसन्धान द्रुतगतिमा गर्नुपर्छ : मुख्यमन्त्री कार्की

२०८१ पुष १२, शुक्रबार

मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य कार्यको अनुसन्धान द्रुतगतिमा गर्नुपर्ने बताएका छन् ।

अख्तियार दुरूपयोेग अनुसन्धान आयोग कार्यालय इटहरीद्वारा आज विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरी कार्यक्रममा उहाँले अनुसन्धानका नाममा लामो समयसम्म काम लम्ब्याउन नहुने तर्क गरे । मुख्यमन्त्री कार्कीले कानुनले गर्न भनेका काम गलत ढङ्गले गर्ने र नगर्नुपर्ने काम गरेका विषयमा आयोगले थप जनशक्ति प्रयोग गरी समयमै फछ्र्याेट गर्नुपर्नेमा सुझाव दिए । उनले आयोगको अनुसन्धानका परिणामप्रति सरकार, जनता र सञ्चार जगत् सन्तुष्ट नभएको गुनासो व्यक्त गरे ।

आयोगले बेनामे उजुरी नलिन आग्रह गर्दै उनले यसबाट भ्रष्टाचारजन्य अन्य मुद्दामा अनुसन्धानमा सहयोग पुग्ने विचार राखे । मुख्यमन्त्री कार्कीले सम्पूर्ण जनप्रतिनिधिले विधिको शासन र कानुनी प्रक्रिया मिलाएर कार्य गर्नुपर्नेमा जोड दिँदै यसबाट मुलुकमा भ्रष्टाचारको अन्त्य भई सुशासन कायम हुने बताए । प्रदेशका प्रमुखसचिव केदारनाथ शर्माले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जिम्मेवारीपूर्वक कार्य गरिरहेको बताए । आयोगका आयुक्त डा हरि पौडेलले गलत प्रवृत्तिका उजुरीलाई तामेलीमा राख्ने गरेको जानकारी दिँदै बेनामे उजुरीबाट ठूला भ्रष्टचारजन्य कार्यको जानकारी प्राप्त हुने गरेको विचार राखे ।

आयोगका सह न्यायायाधिवक्ता गङ्गाप्रसाद पौडेल र आयोगको इटहरी कार्यालयका प्रमुख सुरेश न्यौपानेले आयोगले गरेका कार्यका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । आयोगका उपसचिव नीरजकुमार देवले मुलुकमा भ्रष्टारचार नियन्त्रण र सुशासन कायम गर्न चेतना जगाउन प्रत्येक प्रदेशमा यस प्रकारको कार्यक्रमको आयोजना गर्ने उद्देश्य रहेको बताए ।

कार्यक्रममा प्रदेशका मन्त्री, महानगर, नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुखलगायत कर्मचारीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार