काठमाडाैं : नेपालमा आज साँझदेखि अर्को मौसम प्रणाली भित्रिने भएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण आज र भोलि देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बिहीबार बुलेटिन सूचना जारी गर्दै शुक्रबार दिउँसोबाट शनिबारसम्म पानी पर्ने सम्भावना बढेको जनाएको हो ।
शुक्रबार र शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।
सुदूरपश्चिम र कर्णालीका धेरै स्थान र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेश र कोशीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।





