काठमाडौँ : सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ।
उनका भाइ गजेन्द्र वस्तीका अनुसार हृदयाघात (हार्ट अट्याक) का कारण गएराति उनको निधन भएको हो। काठमाडौँको नयाँबजारस्थित आफ्नै निवासमा गएराति हृदयाघात भएपछि पूर्वन्यायाधीश वस्तीलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो। तर लानेबित्तिक चिकित्सकले मृत घोषणा गरे।
हाल पूर्वन्यायाधीश वस्तीको पार्थिव शरीर नर्भिक अस्पतालमै छ। छोरा विदेशबाट आउन लागेकाले आइतबार मात्रै उनको अन्तिम संस्कार गरिने भाइ गजेन्द्रले जानकारी दिए। ७१ वर्षीय पूर्वन्यायाधीश वस्तीका श्रीमती, ३ छोरी र १ छोरा छन्। छोराछोरीचाहिँ अमेरिका बस्छन्।
पूर्वन्यायाधीश वस्ती २०१० सालमा गोरखाको खोप्लाङमा जन्मिएका थिए।





