काठमाडौँ : नेता डा. भीम रावलले मातृभूमि जागरण अभियान सशक्त वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि आउने बताएका छन्।
अभियानका क्रममा बिहीबार दैलेख पुगेका रावलले भने, ‘हामी जनतालाई स्पष्ट विकल्प दिन चाहन्छौँ। मातृभूमि जागरण अभियान एउटा वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि आउनेछ।’
उनले जनताले चुनावमा विकल्प नै नपाउने गरेको बताए। त्यसका कारण उनीहरूले उही पुरानो दलहरूलाई मत दिन बाध्य भइरहेको उल्लेख गर्दै उनले भने, ‘हामी जनतालाई सु-स्पष्ट विकल्प दिन चाहन्छौँ। जहाँबाट जनताले त्यहीँ समाहित भएर अगाडि बढ्ने आँट गरून्।’
उनले विद्यमान दलहरूलाई कोदो, मकै, भटमास, मासलगायत सबै गेडागुडी एकै ठाउँ भएको दालको संज्ञा दिए। ‘त्यो कसरी दाल भयो ?,’ रावलले सोधे। उनले अहिलेका दलहरूले जनतालाई ढाँट्ने र छल्ने काम गरिरहेको बताए।





