
काठमाडौँ : नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपालमा बिताएका दुई वर्ष अविस्मरणीय भएको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सम्झौता नवीकरण नगर्ने निर्णय गरेपछि देसाई विदा भएका हुन्। उनले सामाजिक सञ्जालमा आफ्नो भावना व्यक्त गर्दै यो बिदाई होइन, हार्दिक धन्यवाद हो भनेका छन्।
जनवरी १०, २०२३ मा, मोन्टी देसाईले नेपाल क्रिकेट संघले दिएको जिम्मेवारी स्वीकार गरेका थिए। उनले यो क्षणलाई उत्साह र उद्देश्यका साथ नेपाल क्रिकेटमा स्थायी प्रभाव पार्ने अवसरका रुपमा लिएको भनेका छन्। उनले भनेका छन्, ‘यी दुई वर्षमा अविस्मरणीय क्षणहरू समेटिएका छन्, जस्तै त्रिवि मैदानमा भएको एसिया कप छनोटमा प्रशंसकहरू रूख चढेर खेल हेरेको दृश्य र मुलपानीमा भएको विश्वकप छनोटमा भीडको जोश।’
उनले त्रिवि क्रिकेट मैदानमा एसिया कप छनोटमा दर्शकहरू छाता ओढेर खेल हेर्न बसेको क्षणदेखि मुलपानीमा टी-२० विश्वकप छनोटको निर्णायक खेल हुँदाको क्षण सम्झिए।
आफ्नो विदाइ पोस्टमा, देसाईले टोलीलाई सम्बोधन गर्दै भनेका छन्, ‘खेलाडीहरू, तपाईं लाखौंको सपना बोक्नुहुन्छ। मैदानमा रहनुहोस्, एक बल युद्ध मानसिकता अँगाल्नुहोस्।’ प्रशंसकहरूलाई उनले भने, ‘तपाईंको अटल समर्थन हाम्रो सबैभन्दा ठूलो बल भएको छ।’ देसाईले नेपाललाई आफ्नो दोस्रो घर भन्दै भावनात्मक रुपमा जोडिएको समेत बताएका छन्।