
काठमाडौँ : काठमाडौंमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेटमा नेपालले नेदरल्यान्ड्ससामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १४५ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि पूजा महतोले नटआउट ६२ रन जोडिन् । मात्र ४३ बलमा चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेकी उनी त्रिवि त्रिकेट मैदानमा अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा अर्धशतक बनाउने पहिलो महिला खेलाडी बनिन् । उनले समग्रमा पाँच चौका प्रहार गरिन् । कविता जोशी ७ रनमा नटआउट रहिन् ।
क्याप्टेन इन्दु बर्माले ३९ र रुविना क्षेत्रीले २० रनको योगदान गरे । ७ रन जोड्दा २ विकेट गुमाएको स्थिति सम्हाल्दै इन्दु र पूजाले तेस्रो विकेटका लागि ७८ तथा पूजा र रुबिनाले चौथो विकेटका लागि ४० रनको साझोदारी गरे । पूजाले अन्तिम २ ओभरमा कवितासँग नटआउट २० रनको साझेदारी गरिन् ।
नेपाल यसअघि नै त्रिकोणात्मक सिरिजको उपाधि यात्राबाट बाहिरिसकेको छ । बुधबारको खेलमा नेपाल विजयी भए थाइल्यान्डले दुई खेल अगाडि नै उपाधि जित्नेछ । नेपालको हारले भने नेदरल्यान्ड्सको उपाधि यात्रा कायम राख्नेछ । चार खेलमा नेपाल अंकविहीन छ । डच टोलीको ४ अंक छ । अपराजित थाइल्यान्डको ८ अंक छ ।