काठमाडौं : रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले आमाको हत्या गरेका छन् ।
कञ्चन गाउँपालिका– १ स्थित सुन्दर टोलका २० वर्षीय सरोज परियारले आफ्नी ४५ वर्षीया आमा पार्वती परियारको हँसिया प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जानकारी दिएको छ । बुधबार राति कान्छा छोरा सरोजले आँखा र हातमा हँसिया प्रहार गरी पार्वतीको हत्या गरेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार सरोज पहिल्यैदेखि मानसिक रूपमा ठीक थिएनन् । घरमा मृतक पार्वती र उनका कान्छा छोरा मात्रै बस्दै आएका थिए । मृतक परियारका जेठा छोरा रोजगारीका लागि भारतमा छन् ।





