विराटनगर : विराटनगरको कञ्चनबारीस्थित एक साेरुमबाटै चोरी भएको कारसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका– ३ कञ्चनबारीस्थित एयरपोर्ट मोडमा रहेको पूजा इन्टरनेसनलको साेरुमबाट भक्सवागन कम्पनीको करिब ८० लाख मूल्य पर्ने बा.०१३० च ८५८१ नम्बरको रातो रंगको कारसहित एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विराटनगर– ४ का २४ वर्षीय मन्तोषकुमार विन रहेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमोरियाले बताए। एसपी चिमोरियाका अनुसार शुक्रबार बिहान २ बजे साेरुमको सिसा फुटाएर बिक्रीका लागि राखिएको रातो रंगको उक्त कार चोरी भएको थियो। सात घण्टापछि बिहान ९ बजे सूचना पाएको प्रहरीले सिसिटिभी फुटेजका आधारमा खोजी थालेको थियो।
मोरङ प्रहरी र कोशी प्रदेश प्रहरीको अनुसन्धान टोलीले चोरिएको उक्त कार सुनसरीको गढी गाउँपालिका– ४ मा रहेको छिटाहा नगरमा फेला पारेको थियो। मन्तोषले उक्त कार गढी गाउँपालिकाको छिटाहा नहर हुँदै सीमानाका प्रयोग गरेर भारततर्फ लान खोजेका थिए।
एसपी चिमोरियाका अनुसार चोरेर लगेको कार पेट्रोल सकिएपछि सीमा कटाउन सकेका थिएनन्। तेल सकिएर रोकिराखेको नयाँ कार देखेपछि शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सिटिटिभी फुटेका आधारमा युवकलाई पनि यकिन गरेर प्रहरीले पक्राउ गरेको हो।
पारदर्शी सिसा लगाएको साेरुमभित्र बिक्रीका लागि राखेको कार मन्तोषले सिसा फुटाएर गाडीभित्रै राखिएको चाबी प्रयोग गरेर आफैँले कुदाएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





