काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको प्रस्तुति दिन प्रतिदिन कमजोर बन्दै गएको बताएका छन्। माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्। उनले यसलाई विभिन्न तत्वहरूले आफ्नो अनुकूलबाट व्याख्या गर्ने प्रयास गरिरहेको बताए।
इतिहासको रछ्यानमा मिल्काइएका तत्वहरूले पनि आफू अनुकूल व्याख्या गर्न थालेको उल्लेख गर्दै अध्यक्ष दाहालले अब यो देशको अग्रगामी विकल्प माओवादी मात्रै हो भन्ने तथ्य व्यवहारबाटै पुष्टि गर्ने बेला आएको बताए।
उनले १८ महिनाको सरकारको अनुभव र सरकारबाट बाहिरिँदै गर्दा जनतामा गरिएको अपिलले जनतामा सकारात्मक प्रभाव पर्दै गएको र माओवादीप्रति पुनः आकर्षण फर्कन थालेको दाबी गरे। अध्यक्ष दाहालले पछिल्लो केही समय आवश्यकता भन्दा बढी सहकार्य र समीकरण गर्दै जाँदा आफ्नो वर्ग र समुदायसितको सम्बन्ध कमजोर भएको गम्भीर आत्मसमीक्षा गरेर आफ्नै वर्गमा फर्कनुपर्छ र पार्टीलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्ने निष्कर्षमा पुगेर नयाँ अभियान थालिएको जानकारी दिए।





