काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पीडित जनताले अझै अधिकार प्राप्त गर्न नसकेको बताएका छन् । कैलालीको टीकापुरमा मंगलबार आयोजित थारु राष्ट्रियमुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनमा उनले उत्पीडित जनता अहिले पनि आफ्नो अधिकारको पर्खाइमा रहेको बताए ।
‘यो व्यवस्था ल्याउनमा उत्पीडित जाति, वर्ग र समुदायको महत्वपूर्ण भूमिका थियो र छ । तिनको अधिकारलाई स्थापित गर्दै समाजवाद स्थापना गर्नु अहिलेको आवश्यकता हो’, अध्यक्ष दाहालले भने । समाजवादी क्रान्तिका लागि जातीय मोर्चा आवश्यक हुने उनको जिकिर थियो । अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र एमालेलाई फकाएर सत्तामा जाने पक्षमा नभएको दाबी गरेका छन् । उनले आगामी निर्वाचनअघि सत्तामा नजाने दाबी गरेका हुन् ।
‘कांग्रेस र एमालेसँग सहकार्य गर्दा माओवादीलाई कहिले एमाले त कहिले कांग्रेसको रोग सर्यो । दुवै पार्टीसँगको सहकार्यमा हामीलाई लागेको रोगको उपचार गर्न तपाईंहरू समक्ष आएका छौं’, प्रचण्डले भने, ‘अब हामी विगतमा जस्तो कांग्रेस वा एमालेलाई फकाएर सरकारमा जाने पक्षमा छैनौं । जनताको विश्वास जितेर माओवादीलाई देशको एक नम्बर पार्टी बनाएर सुशासनको पक्षमा लाग्नेछौँ ।’
विगतमा भएको सशस्त्र संघर्षलाई सफल पार्नमा पार्टीसँग जोडिएका जातीय मोर्चाको भूमिका विशेष रहेको बताउँदै अध्यक्ष दाहालले बृहत् शान्ति प्रक्रियापछि ती समुदायसँगको समन्वय र सहकार्यमा केही कमजोरी भएको स्वीकारे । ‘जनताको माझबाट सत्तामा पुगेपछि हामीबाट केही कमजोरी भए । व्यवस्था परिवर्तनका लागि भूमिका खेलेका जाति, समुदाय र वर्गबाट टाढा भएको जस्तो भयो । अहिले गम्भीर समीक्षापछि आफ्ना गल्तीलाई महसुस गर्दै पार्टी अगाडि बढेको छ’, उनको भनाइ थियो ।










