काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरूको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन् ।
आज सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी दिएका हुन् । राजावादीहरूको प्रदर्शनले मन, मुटु हल्लिएको हो ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले भने, ‘यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाइँको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले !’ अध्यक्ष प्रचण्डले यसको जिम्मवारी सरकारले लिनुपर्ने पनि बताएका छन् ।
उनले सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको बताएका छन् । उनले राजावादीहरूको प्रदर्शनको काउण्टरमा जाने हो भन्ने प्रश्नमा आफूहरू सल्लाह गरिरहेको जबाफ दिए । उनले भने, ‘यो प्रदर्शनले केही मन मुटु हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाइँको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ? यसको जिम्मेवारी त सरकारले लिनु नै पर्छ ।
सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठूलो निराशा र आक्रोश छ । जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन । सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टेसन छ । त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएको जस्तो देखिन्छ । हामी सल्लाह गर्दैछौं ।’





