
काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चीनले विश्वव्यापी प्रभुत्वका लागि बीआरआई ल्याएको भन्ने कुरा पश्चिमी आवाज भएको बताएका छन्। शनिबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।
‘चीनले आफ्नो विश्वव्यापी प्रभुत्वको लागि बीआरआई ल्याएको हो भन्ने प्रचार भइरहेको छ। यो पश्चिमी संसारको आवाज हो। व्यावहारिक रूपमा हामी बीआरआई प्रयोग गरेर नेपाल वा अन्य देशहरूमा चीनको प्रभुत्वको कुनै प्रमाण र संकेत देख्दैनौँ,’ नेता खनालले भने, ‘केही मानिसहरूले पोखरा विमानस्थल चीनको ऋणको पासो हो र यसलाई निर्माण गर्नु गल्ती थियो भनेर प्रचार गर्छन्। लुम्बिनी विमानस्थलको बारेमा पनि यस्तै हल्ला फैलाइँदैछ।’
उनले बीआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको दाबी पनि गरे। देशले राष्ट्रिय आवश्यकता र हितका आधारमा बीआरआईको उपयोग अधिकतम् गर्नुपर्ने उनले बताए। चीनको अर्थतन्त्र २० ट्रिलियन डलर नाघेको चर्चा गर्दै नेता खनालले त्यसलाई असाधारण रूपमा चीनले विकासशील आर्थिक शक्ति बनाएको बताए। यस्तो शक्तिशाली साझेदारबाट परियोजनाहरू प्राप्त गर्नु नेपालसहित सबै देशहरूको लागि बरदान भएको उनले बताए।