काठमाडौँ : नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले महिलालाई आर्थिक सशक्तिकरणको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन्। आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा बोल्दै उनले नेपालको औद्योगिक र आर्थिक क्षेत्रको समृद्धिमा महिलाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। महिलाको भूमिका थप बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
नेपालमा महिला उद्यमशीलताको विकास सकारात्मक रूपमा बढिरहेको र महिला उद्यमीले कृषि, पर्यटन, सूचना प्रविधि, हस्तकला लगायत क्षेत्रमा उल्लेखनीय योगदान दिइरहेको उनको भनाइ थियो। साना व्यवसायमार्फत पनि मुलुकको अर्थतन्त्रमा महिलाको योगदान बढ्दै गएको उल्लेख गरे।
अध्यक्ष अग्रवालले भने, ‘नेपालको औद्योगिक र आर्थिक क्षेत्रको समृद्धिमा महिलाको भूमिका महत्वपूर्ण छ। महिलाको भूमिका थप बढाउनुपर्छ। नेपालमा महिला उद्यमशीलताको विकास सकारात्मक रूपमा बढिरहेको छ। महिला उद्यमीले कृषि, पर्यटन, सूचना प्रविधि, हस्तकला लगायत क्षेत्रमा उल्लेखनीय योगदान दिइरहेका छन्। साना व्यवसायमार्फत पनि मुलुकको अर्थतन्त्रमा महिलाको योगदान बढ्दै गएको छ।’
उनले थपे, ‘महिलालाई आर्थिक सशक्तिकरणको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्छ। देशले अवलम्बन गरेको नीतिगत व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर आर्थिक विकासको आधारका रूपमा महिलालाई अघि बढाउनुपर्छ। नीति निर्माणमा महिलाको सहभागिता बढाउन आवश्यक छ।’ उनले राज्यले महिलालाई थप प्रोत्साहन गर्नुपर्ने र सार्वजनिक निकायमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन्।





