काठमाडौं : पद्मकन्या क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको विद्रोही समूहको प्यानल नै निर्वाचित भएको छ ।
नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार नेतृत्वको प्यानललाई हराउँदै स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी भुपेश्वरी (भुपी) ऐर नेतृत्वको विद्रोही प्यानल निर्वाचित भएको हो । भूपीले ७३० मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत पाइन् ।
यसैगरी सचिवमा भुपी प्यानलकै सन्ध्या बस्याल ६९५ मतसहित र कोषाध्यक्षमा संकल्पिका थापा ६६६ मत सहित निर्वाचित भएका छन् । सचिव पदमा निकटतम प्रतिस्पर्धी विपना न्यौपानेले ३६१ र कोषाध्यक्ष पदकी निकटतम प्रतिस्पर्धी चाँदनी शाहले ४०५ मत पाए ।
सदस्यहरुमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यानसु कटुवाल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।





