काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक विदा दिएको छ।
रानाथारु समुदायको खखडेहरा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो। कैलाली, कञ्चनपुरमा बसोबास रहेको यो समुदायले होरी पर्वको अन्तिम दिन खख्डेहरा फुटाएर होरीको समापन गर्ने गर्दछन्। पर्वको अवसरमा प्रदेशभर शुक्रवार सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ।
एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको महत्वपूर्ण दिन खखडेहरा मानिन्छ। माघ पूर्णिमादेखि रानाथारु समुदायको होरी पर्व सुरु भएको थियो। खखडेहरा फुटाएपछि पुरुषको होरी समापन हुने गरेको धनगढी गाउँका भलमनसा भज्जी रानाले बताए। महिलाले भने चैतको चराइँमा होरी समापन गर्ने चलन रहेको छ।





