पानी संरक्षणमा एकजुट हुन उपराष्ट्रपतिको जोड

२०८१ चैत्र ९, शनिबार

काठमाडौँ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पानी प्रकृतिको वरदान भएको बताउँदै यसको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

विश्व पानी दिवस, २०२५ को अवसरमा शुभकामना दिँदै उनले भावी पुस्ताको सुरक्षित र समृद्ध जीवनका लागि पानी संरक्षण जरुरी रहेको बताए। ‘पानीबिना जीवनको कल्पना गर्न सकिँदैन। यसको संरक्षण र समुचित उपयोगका लागि प्रयास र पहल गरी भावी पिँढीलाई सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउन एकजुट हुनुपर्छ,’ उनले भने।

सन् १९९३ देखि हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो। यसले सुरक्षित र स्वच्छ पानीको महत्त्व दर्शाउँदै व्यवस्थापनका रणनीति र जनचेतना बढाउन सहयोग गर्छ। सन् २०२५ को नारा ‘हिमनदी संरक्षण’ रहेको छ।

उपराष्ट्रपति यादवले बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा परिवर्तन र अत्यधिक पानीको प्रयोगले सङ्कट निम्त्याएको बताए। पानीको कमजोर व्यवस्थापन, प्रदूषण, अपर्याप्त संरचना, सरोकारवालाको कम सहभागिता र माटो क्षयीकरणले पनि समस्या गहिरिएको उनको भनाइ छ।

‘पानीको कमीले पारिस्थितिक प्रणालीमा अवरोध ल्याएर खाद्य र पानी सुरक्षालाई सङ्कटमा पार्न सक्छ। नेपालमा पानीको स्रोत तीव्र रूपमा घटिरहेको छ,’ उनले भने। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार