काठमाडौं : बागमती प्रदेश सरकारले नयाँ वर्ष २०८२ मा ४ दिन सार्वजनिक बिदा थप्ने भएको छ । बागमती प्रदेशको सोमबार अपरान्ह मन्त्रिपरिषद बैठकले नेपाल सरकारले निर्णय गरेका बाहेक थप ४ दिन बिदा दिने भएको हो ।
प्रदेश सरकारका प्रवक्ता एव्म आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज लामिछानेका अनुसार विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई क्यालेण्डरमा नै जनाउने गरी नेपाल सरकारले दिने बिदा बाहेक ४ दिनको बिदा थप गरिएको हो । उक्त निर्णयसंगै विगतमा पर्व र दिवस विषेशमा बिदा दिन मन्त्रिपरिषद बैठक बस्नुपर्ने अवस्था नरहने उनले बताए ।
उनका अनुसार प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन (बैशाख २४ गते), गाइजात्राको दिन साउन २५ गते, चेपाङ समुदायको न्वागी भदौ २२ गते र माझी समुदायको लदी पर्व फागुन १९ गतेका दिन दिन बिदा दिने निर्णय भएको हो । सरकारले मन्त्रिपरिषदले गरेको उक्त निर्णय राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनको चरणमा अघि बढ्नेसमेत उनले बताए ।





