काठमाडौं : भारतको राजधानी नयाँ दिल्लीमा हुनेवाला पतिसँग घुम्न गएकी एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २४ वर्षीय प्रियंका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्लीको चाणक्यपुरी निवासी प्रियंका आफ्नो हुनेवाला पति निखिलसँग गत बिहीबार घुम्न गएकी थिइन् । ‘इङ्गेजमेन्ट’ गरिसकेका उनीहरूको विवाह चाँडै नै हुने निधो भएको थियो ।
कापसहेडास्थित ‘फन एन्ड फुड भिलेज’ मा प्रियंका र निखिल ‘रोलर कोस्टर’मा चढेका थिए । यस क्रममा ‘रोलर कोस्टर’को एउटा ‘स्ट्यान्ड’ भाँचिएको थियो । प्रियंका ‘रोलर कोस्टर’बाट तल खसिन् । गम्भीर घाइते अवस्थाकी उनलाई निखिलले नजिकैको अस्पतालमा उपचारका लागि लगेका थिए । नाक र कानबाट रक्तश्राव भएको अवस्थामा अस्पताल लगिएकी उनलाई चिकित्सकले मृत घोषित गरे ।





