चितवन : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन भएको बताएका छन् ।
पुलचोक–गोन्द्राङ् ६ लेन सडकको आज यहाँ उद्घाटनपछि उपप्रधानमन्त्री सिंहले पछिल्ला वर्षमा धेरै काम भएको तर जनताको अपेक्षाअनुसार काम गर्न भने समय लाग्ने बताए । आफ्नै लगानीमा काम गर्न सकिन्छ भन्ने बलियो उदाहारण यो सडकले दिएको उनको भनाइ थियो । “अब सडक बनाउने अनी भत्काउने गर्न हुँदैन् । सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा काम गर्नुपर्छ ।
सङ्घीयताको भावना भनेकै सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्ने हो”, उनले भने । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले यसरी नै पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नतिको काम गरिरहेको बताए । उनले यो सडक सरकारकै लगानीमा बन्दै गरेको बताए ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले सडक निर्माणका क्रममा एकैपटक सबै पूर्वाधार रहने गरी गृहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिए । उनले यस्ता परियोजना बनाउँदा धेरै बाधा व्यवधान आउने भन्दै सबै मिलेर निर्माणका काम गर्नुपर्ने बताए । यो बागमती प्रदेशकै नमूना सडक भएको उनले बताए ।





