जनताका समस्यामा सरकार गम्भीर छैन : सांसद बस्नेत

२०८२ बैशाख १८, बिहीबार

काठमाडौं : संघीय संसद्, राष्ट्रियसभाका सांसद गोपालकुमार बस्नेतले राज्यले ज्येष्ठ नागरिकलाई संरक्षण गर्नेभन्दा पनि उनका सन्तानलाई आफ्ना बाबुआमाप्रतिको जिम्मेवारी पूरा गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् । विसं २००२ असोज ९ गते इलामको साँखेजुङमा बुबा तुङ्गबहादुर र आमा पूर्णकुमारी बस्नेतको जेठो पुत्रका रुपमा गोपालकुमार बस्नेतको जन्म भएको हो ।

नेपाली कांग्रेस, झापा जिल्लाबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदले बस्नेतले भने, ‘सरकारले ज्येष्ठ नागरिकको निम्ति अहिले जुन जुन सुविधा दिएको छ, त्यो ठिकै पनि छ, तर पहिलो कुरा सबै सन्तानहरु आफूलाई जन्मदिने बाबुआमाप्रति जिम्मेवार हुनुपर्छ, आफ्नो दायित्व पूरा गर्ने वातावरण बनाउनु पर्छ ।’ ज्येष्ठ नागरिकको विषय सरकारले गम्भीरतापूर्वक लिने विषय भए पनि सामान्य रुपमा लिएको टिप्पणी गरे । ज्येष्ठ नागरिकले पाउने अधिकार उनीहरुले सहज रुपमा पाउनु पर्छ । सांसद बस्नेतसँग राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंश ।

ऐनमा ज्येष्ठ नागरिकले आफूमाथि कुनै पनि किसिमको अन्याय, अत्याचार, दुव्र्यवहार वा हिंसा भएमा गाउँपालिका वा नगरपालिकाको न्यायिक समितिमा उजुरी गर्न सक्ने छन् । न्यायिक समितिबाट उनीहरूको मुद्दा सम्बोधन नभएको खण्डमा जिल्ला अदालतमा उजुरी दिन सक्नेछन् पनि भनिएको छ। ज्येष्ठ नागरिक (पहिलो संसोधन) ऐन, २०७९ मा यदि कसैले ज्येष्ठ नागरिकमाथि कुनै पनि अपराध गरेको खण्डमा कसुर हेरी रु १० हजारदेखि पाँच लाख नगदसम्म जरिवाना हुने र तीन महिनादेखि पाँच वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था गरिए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छ । ज्येष्ठ नागरिक सेवा, सुविधा र कार्यक्रमअन्तर्गत अहिले ६८ वर्ष माथिकालाई ज्येष्ठ नागरिक भत्तास्वरूप रु चार हजार वितरण भइरहेको छ । कर्णाली क्षेत्र, दलित, लोपोन्मुख वर्गका ज्येष्ठ नागरिकलाई उक्त भत्ता ६० वर्षमै दिने गरेको छ । यो कुरा आफैमा राम्रो छ । छोटो दूरीका यातायातमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था छ । ६० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई स्वास्थ्योचारमा ५० प्रतिशत छुटको व्यवस्था छ । तर यस्को व्यवहारिक कार्यान्वयन हुन सकेको छैन ।

७० वर्ष माथिकालाई जटिल रोग (क्यान्सर, आङ खस्ने, अल्जाइमर्स÷पार्किन्सन, मिर्गौला र मुटु रोग) को उपचारमा एक लाख छुट रहेको छ । यसैगरी ७५ वर्ष माथिकालाई मिर्गाैला र मुटु रोगको निःशुल्क उपचारको व्यवस्था छ । यसको पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन जरुरी छ । ज्येष्ठ नागरिकलाई कानुनमा सुविधा दिइएको छ । तर व्यवहारमा छैन । स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको कुरा गरिएको छ । तर गाउँमा अस्पताल छैन । बूढाबूढी सहरसम्म आउन सक्ने अवस्था छैन ।

गाउँमा डाक्टरको पनि अभाव छ । मेरो संसद्को अभ्यास पहिलो हो । संसदमा आएको ढाइ वर्ष मात्रै भयो । संसदमा सबै जातजाति, भाषाभाषी, समुदायलगायत सबै क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने ठाउँ रहेछ । संसदमा सबै सांसदले आफ्नो निर्वाचन क्षेत्र, क्षेत्र, जातीय समुदायको सवालमा सरकारको ध्यानाकर्षण गराउने काम त हुने नै भयो । साथसाथै विभिन्न क्षेत्रको विकासको विषय पनि संसदमा उठ्ने नै भयो । तर संसदमा उठाएका जनताका सवालमा सरकारले कार्यान्वयन गर्न सकेको छैन । संसदमा रहँदै गर्दा कानुन बनाउने विषयमा पनि अध्ययन गर्ने मौका पनि हुनेरहेछ ।

कानुन बनाउनुका लागि नयाँ पुराना ऐन-कानुन अध्ययन गर्ने अवसर पनि हुँदोरहेछ । भिन्नभिन्न पार्टीबाट प्रतिनिधित्व गर्ने भए पनि सांसदबीच आपसी सद्भाव पनि हुँदोरहेछ संसदमा । तर सरकार जनताप्रति उत्तरदायी भएको जस्तो देखिँदैन । जनताका समसामयिक विषयमा सरकार गम्भीर छैन भन्दा पनि हुन्छ । यद्यपि संसद्, राष्ट्रिय सवाल, विकासको सवालमा गम्भीर नै छ । जस्तोसुकै गम्भीर विषयलाई पनि संसद्ले सरलीकरण गर्दै लैजाने काम गर्दै आएको छ ।

संविधान संशोधन गर्ने भनिएको छ, तर कुन विषयमा संशोधन गर्ने भन्ने विषय आएको छैन । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीलगायत सरकार गठनका क्रममा भएको सहमतिको पहिलो बुँदा नै संविधान संशोधन गर्ने भनिएको छ । तर कुन–कुन विषयमा संशोधन गर्ने भन्ने कुरा प्रष्ट आउन सकेको छैन । तर संविधान संशोधन गर्नुपर्छ भन्ने विषय विगतदेखि नै उठ्ँदै आएको हो । विशेष गरी राष्ट्रपति र प्रधानमन्त्रीको संविधान संशोधनको विषय उठेको छ । तर त्यस विषयमा गम्भीर छलफल भएको छैन ।

सुशासनको निम्ति जनताका प्रतिनिधि सांसदहरुले प्रतिनिधिसभा र राष्ट्रियसभामा उठाएका जनताका समसामयिक विषयलाई कार्यान्वयन गर्नुपर्छ । संघीयता एकैचोटी बलियो वा सुदृढ हुने विषय होइन । विस्तारै आफै बलियो हुँदै जाने कुरा हो । तै पनि संघसंस्थालाई अझै बलियो बनाउने सवालमा प्रदेश र स्थानीय सरकारको पनि भूमिका हुन्छ । देशका सबै समस्याहरु एकैचोटीभन्दा पनि विस्तारै विस्तारै समाधान हुँदै जाने विषय हो । युवाहरुको लागि सरकारले देशभित्रै रोजगारी सिर्जना गर्न सक्नुपर्छ ।

त्यसका लागि देशभित्रै उद्योग, कलकारखाना खोल्नु पर्छ । उनीहरुलाई केही न केही काम दिन सक्नुपर्छ सरकारले । अर्को कुरा, नेपालका युवा मात्रै होइन, अल्पविकसित देशका युवा विकसित देशमा रोजगारी वा अध्ययनका लागि जाने टे«न नै चलेको छ । अहिले ग्लोबलाइजेशन पनि भएको छ । मान्छे विश्वलाई आफ्नो घर बनाइरहेको छ । तर सकेसम्म सरकारले नेपालमा गुणस्तरीय शिक्षा दिन सक्नुपर्ने हो । देशभित्रै बस्ने वातावरण बनाउनु पर्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार