स्कुटर दुर्घटनामा परी एकजनाको मृत्यु

२०८२ बैशाख २२, सोमबार

काठमाडौं : भद्रपुरमा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ स्थित गौरीशंकर निवासी ३५ वर्षीय अनिल लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार आइतबार राती पौने ९ बजेको समयमा मेची राजमार्गको चारआली केचना सडकखण्ड अन्तर्गत भद्रपुरबाट बनियानीतर्फ गइरहेको प्र १–०१–०१२ प ९९३७ नम्बरको स्कुटर भद्रपुर–४ स्थित झापा चोकदेखि दक्षिण तल बाहुन गाउँमा अनियन्त्रित भएर दुर्घटना भएको थियो।

दुर्घटनामा परी स्कुटर चालक दमक नगरपालिका– २ का २९ वर्षीय रबिन फुयल सकुशल रहेको र स्कुटर पछाडि लिम्बुको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको थियो। लिम्बुको उपचारको क्रममा राती नै मृत्यु भएको प्रहरीले जनाएको छ। सडक नालामा गएर ठोक्किँदा स्कुटरको अगाडिको भाग क्षतिग्रस्त बनेको छ। विदेश जानका लागि बिर्तामोडको एक म्यानपावर पुगेर उनीहरू फर्किँदै थिए।

लिम्बुलाई स्कुटर चालक फुयल घर छोड्न आएका थिए। स्थानीयका अनुसार पानी परिरहेको र बिजुली पनि गएको अवस्थामा सो स्कुटर अनियन्त्रित भएर सडक छेउको नालामा खसेर दुर्घटना भएको थियो। वडा प्रहरी कार्यालय भद्रपुरले स्कुटर र स्कुटर चालक फुयललाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार