काठमाडौं : ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन बन्द गरिएको छ ।
पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएर बीएण्डबी अस्पताल पठाइएको छ । ११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो । ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरुसमेतको सहयोगमा पोल हटाउने प्रयास जारी छ ।
ललितपुर प्रहरीका अनुसार गएराति बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो । कारमा सवार तीन जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बीएण्डबी अस्पताल पठाइएको छ । प्रहरी स्रोतका अनुसार मापसे गरी सवारी चलाउँदा कार दुर्घटना भएको हो । कारको अगाडिको भाग क्षतिग्रस्त भएको देखिन्छ ।
दुर्घटनाको प्रकृति हेर्दा कार तीव्र गतिमा भएको अनुमान गर्न सकिन्छ ।





