काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक (निलम्बित) महामन्त्री मुकुल ढकालले आगामी निर्वाचनमा पार्टीले राष्ट्रिय दलको मान्यता गुमाउने जोखिम रहेको चेतावनी दिएका छन्।
ढकालका अनुसार २०७९ को स्थानीय निर्वाचनमा बालेन शाहको उदयले राजनीतिक परिदृश्य तरंगित बनायो। त्यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई वैकल्पिक शक्तिका रूपमा हेरिए पनि रास्वपाले २० सिट जितेर अप्रत्याशित सफलता पायो। तर हाल रास्वपाको लोकप्रियता खस्किएको र आगामी निर्वाचनमा तीन लाख मत पनि नपाउने सम्भावना रहेको उनले बताए।
उनले लेखेका छन्, ‘हालै मेरा एक मित्रले गरेको विस्तृत अनुसन्धानले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन लाख मत पनि प्राप्त गर्न नसक्ने सम्भावना देखाएको छ। रवि लामिछानेको गिरफ्तारीपछि रास्वपाले सहानुभूतिका मतहरू प्राप्त गर्न सक्ने अनुमान गरिएको थियो, तर त्यसभन्दा शक्तिशाली र निर्णायक कारक राजसंस्थाको पुनःस्थापना र सुधारिएको गणतन्त्रबिचको ध्रुवीकरण देखिएको छ-यहीँ वैचारिक द्वन्द्वले सहानुभूतिको सम्भावनालाई पनि छायामा पारेको देखिन्छ।’
उनले राप्रपाले ३५-४० सिट जित्ने प्रक्षेपण गरेका छन्। जबकि रास्वपा केही क्षेत्रमा प्रतिस्पर्धी भए पनि जित हासिल गर्न नसक्ने र समानुपातिक मतमा सीमित रहने बताए।
ढकालले पार्टीभित्र वैचारिक स्पष्टता, संगठन संरचनाको नविकरण र जनविश्वास आर्जन गर्ने कदमको अभावमा रास्वपाको अवस्था भयावह बन्ने चेतावनी दिए। उनले गगन थापाले गणतन्त्रप्रति प्रतिबद्ध जनमत आकर्षित गरेको, एमाले र माओवादी केन्द्रले आ-आफ्नै रणनीतिमा संगठन बलियो बनाएको उल्लेख गरेका छन्।
यदि बालेन शाहले नयाँ दल गठन गरेमा राजनीतिक समीकरण पूर्ण रूपमा बदलिने र हालका प्रक्षेपणहरू अप्रासंगिक हुने उनको विश्लेषण छ। उनले भनेका छन्, ‘यस्तो जटिल परिस्थितिमा यदि बालेन शाहले नयाँ राजनीतिक दल खोले भने, सम्पूर्ण राजनीतिक समीकरण पूर्ण रूपमा परिवर्तन हुनेछ-हाल गरिएका यी प्रक्षेपणहरू त्यसपछि अप्रासंगिक बन्नेछन्।’
रास्वपाले आफूलाई पुनर्गठन नगरे राष्ट्रिय राजनीतिबाट विलुप्त हुने खतरा रहेको उनको निष्कर्ष छ।






