काठमाडौँ : नेकपा एमालेले भ्रातृ संगठन अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकेको हो। एमाले सचिव पद्मा अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराइने बताइन्। उनले अन्य पार्टीले आफ्नो विद्यार्थी संगठनमा उमेर हदबन्दी लगाएको सन्दर्भमा एमाले अनेरास्वविुमा पनि उमेर हद लागु गरिएको बताइन्।
यसअघि नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी) ले ३२ वर्षे उमेर हद तोकिसकेका छन्। एमालेले राष्ट्रिय युवा संघमा ४० वर्षे उमेर हद तोकेको छ। अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा हुँदै छ।





