काठमाडौँ : उद्योगपति विनोद चौधरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जनश्रम कृषि सहकारीले उत्पादन गरेको आलु खरिद गरेका छन्। उनले आफ्नो सीजी फुड्सले आलु खरिद गरेको भन्दै यसले नेपाली अर्थतन्त्रको एकीकृत विकासका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत व्यक्त गरेका छन्।
‘नेपाली अर्थतन्त्रको एकीकृत विकासका लागि कृषि उत्पादन र औद्योगिक उत्पादनबिच अन्योन्याश्रित सम्बन्ध हुनुपर्छ। हाम्रा उद्योगहरूका लागि आवश्यक कच्चा पदार्थ देशभित्रैबाट आपूर्ति गर्न सकियो भने अर्थतन्त्रको जग बलियो हुन्छ,’ चौधरीले एक्समा लेखेका छन्।
उनले थपेका छन्, ‘हामीले देशभित्र उपलब्ध कच्चा पदार्थको अधिकतम उपयोग गर्ने नीति लिएका छौँ। सोहीअनुसार विप्लवजीले उत्पादन गरेको आलु हाम्रो इन्डष्ट्रियल पार्कले खरिद गरेको हो। अन्य कृषि उपज पनि यस्तै गरी आपूर्ति हुने वातावरण बनाउनुपर्छ। राजनीति र आर्थिक विकास जोडियोस्, विप्लवजीलाई शुभकामना!’
नेकपाले उत्पादन गरेको दुई लाख किलो आलु सीजी फुड्सले खरिद गरेको हो। यो सम्झौता गत कात्तिक २ मा भएको थियो। नेकपाका महासचिव विप्लवले तुलसीपुरमा सोमबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको भेटघाट कार्यक्रममा यो जानकारी दिएका हुन्।





