काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरण छानबिनका लागि सकारद्वारा गठित समितिले निष्पक्ष र तथ्यपरक छानबिन नगरे त्यसको प्रतिवेदन अस्वीकार गर्ने चेतावनी दिएको छ।
सो दलका तर्फबाट प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै पार्टी उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले त्यस्तो चेतावनी दिएका हुन्।भिजिट भिसा प्रकरणबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म आफूहरूको निगरानी र खबरदारी जारी रहने उनको भनाइ थियो।
सत्तारूढ दल र प्रतिपक्षबीच गत ३० जेठमा भएको दुई बुँदे सहमतिअनुसार सरकारले उच्चस्तरीय छानबिन तथा अध्ययन समित गठन गरेको भन्दै उनले धन्यवाद दिए।
पुनले समितिले दक्षतापूर्वक प्रभावकारी छानबिन गर्नुपर्नेमा जोड दिए। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्य सचिव शंकरदास बैरागी नेतृत्वमा भिजिट भिसा प्रकरण छानबिनका लागि ‘उच्चस्तीय अध्यन तथा छानबिन समिति’ गठन गर्ने निर्णय गरेको थियो। सरकारल तर्फबाट गृहमन्त्री रमेश लेखकले समिति गठनसम्बन्धी मन्त्रिपरिषदको निर्णयबारे सदनलाई जानकारी गराएपछि पुनले दलका तर्फबाट धारणा व्यक्त गरेका छन्।
त्यसअघि माओवादी केन्द्रसहित विपक्षीले भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै १८ दिनसम्म लगातार संसद बैठक बहिष्कार गेरका थिए। ‘भिजिट भिसा र अध्यागमनमा देखिएका समस्याहरू विगतदेखि नै कहाँनेर हुन् र कसरी हुन्? कहाँनेर ‘ग्रे एरिया’ छ जसले गर्दा विभिन्न अपराध वा यस्ता घटनाहरू हुने गरेका छन्,’ पुनले भने, ‘समितिले सत्यतथ्य छानबिन गरोस् र जनताको भावनाअनुसार प्रतिवेदन र सुझावहरू प्रस्तुत गरोस् भन्ने हाम्रो अपेक्षा छ। तथ्यसंगत ढंगले छानबिन भएन, अविश्वासहरू पैदा भए भने जनताका तर्फबाट निगरानी र खबरदारी हुने छन्। हामी स्वयं प्रमुख प्रतिपाक्षीको तर्फबाट निगरानी र खबरदारी गरिराख्नेछौं।’
पुनले भिजिट भिसा प्रकरणबारे संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको भन्दै त्यस्तो छानबिन निष्पक्ष, पारदर्शी तथा प्रमाण र तथ्यसंगत होस् भन्ने आग्रह गरे।
अख्तियारको कार्यक्षेत्रभन्दा बाहिर पनि भिजिट भिसा प्रकरणसँग जोडिएका ट्राभल एजेन्सी, मेनपावर, एयरलाइन्स कम्पनी र नेपालस्थित अन्तर्राष्ट्रिय नियोगका व्यक्तिहरू समेत मुछिएको भन्ने समाचार सञ्चार माध्यममा आएकाले ती विषयको छानबिन उच्चस्तरीय समितिले गर्नुपर्ने माग उनको छ।





