काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू सरकारसँग लचिलो भएर समझदारीमा आउनुको एक कारण संसदमा विचाराधीन विधेकय पनि रहेको दाबी गरेका छन्। बुधवार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
‘अहिले पनि मैले असाध्यै बढी चिन्ता व्यक्त गरिरहेको माननीय सदस्य ज्युहरुले देख्नुहुन्छ होला। देशको समग्र राजनीतिक परिदृश्यलाई हेरेर र केही महत्वपूर्ण र संवेदनशील कुराहरुलाई हेरेर,’ दाहालले भने, ‘वधेयकहरु जो हामीले धेरै मेहनत गरेर सदनमा पु¥यायौँ। सदनबाट समितिमा आयो र समितिमा छलफल गरेर पारित पनि ग¥यौँ। तर सदनमा पुगेर कार्यसूचीमा चढेर पनि हटाइने त्यस्तो प्रक्रिया देख्दा बडो चिन्ता पनि मलाई भएको छ।’
आफूले सरकारसँग समझदारी बनाऔँ भन्नुको कारण नै यीनै भएको दाहालले दाबी गरे । उनले भने, ‘मैले त कतिपय कुरा सरकारसँग समझदारी बनाऔँ भन्नुको पछाडिको एउटा कारण यी असाध्यै संवेदनशील र महत्वपूर्ण विधेयकहरू छिटो ऐनमा परिणत होऊन् भन्ने हो।’
यी विधेयक आफूले नै संसदमा पु¥याएको दाहालले बताए। ‘किनभने संघीय निजामति विधेयक मैले नै संसदमा पु¥याएको हुँ। अनि विद्यालय शिक्षा विधेयक जो अहिलेको सरकारले पनि शिक्षकहरुसँग सम्झौता गरेर असार १५ गतेसम्म ल्याइन्छ भनेर सहमति पनि गरिसकेको ऐन छ, त्यो पनि मैले नै सदनमा पु¥याउन नेतृत्व गरेको नाताले पनि। र नागरिकतालगायतका अन्य विषयहरूका कारणले पनि बरु सरकारसँग केही लचिलो भएर समझदारी गरेर पनि लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण अत्यन्त संवेदनशील ऐनबारे चिन्ता गरेको हुँ,’ दाहालले भने।





