गुल्मी : घाँस काट्ने क्रममा भिरबाट लडेर गुल्मीमा एकजना महिलाको मृत्यु भएको छ ।
जिल्लाको मदाने गाउँपालिका–६ घ्युउपानीकी ३१ वर्षीया लक्ष्मी थापाको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । आज दिउँसो स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस काट्न भनी गएकी थापा साँझ अबेरसम्म घर नफर्केपछि परिवार र छिमेकीद्वारा उहाँको खोजतलास गरिएको थियो ।
खोजतालासका क्रममा उनको शव सोही सामुदायिक वनको कीराचौर भिरबाट खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरीक्षक रेबन्त सेनको नेतृत्वमा छ जनाको टोली घटनास्थलमा पुगेको थियो । मृतक थापाका दुई छोरा छन् भने श्रीमान् रोजगारीको सिलसिलामा दुबईमा छन् ।
थापाको शव परीक्षणका लागि गुल्मी अस्पतालमा राखिएकोे बताउँदै प्रहरी नायब उपरीक्षक सारुले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।









