काठमाडौं : गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँग सत्ता सहकार्यमा समस्या नभएको बताएका छन् ।
सरकार सञ्चालनमा गम्भीर र अप्ठ्यारो समस्या नभएको लेखकले पार्टी बैठकमा बताए । केन्द्रीय समितिको बैठकमा मन्त्री पदमा आफूले गरेका कार्यहरु सुनाउने क्रममा लेखकले एमालेसँग मिलेर २०८४ सालको निर्वाचनसम्म सरकारलाई निरन्तरता रहने बताए ।
लेखकले आफूले मन्त्री पद सम्हालेपछि भएका घटना र मन्त्रालयले गरेका कार्यहरू पार्टी नेताहरूलाई सुनाए । राजावादीहरूको आन्दोलनलाई निस्तेज पारेको उनले बताए ।
‘भोलि नै राजा आउँछन्, पर्सि नै राजाको आन्दोलन सफल हुन्छ भन्ने लगायतका विषयहरूले अहिलेको पद्धतिलाई, संविधानलाई अलिकता कमजोर गर्ने गतिविधिहरू भइराख्या थिए,’ लेखकले भने, ‘केही चुनौतीहरू केही ठाउँमा धार्मिक भड्काउवादी तत्वहरू छन् । तिनको खतराप्रति हामी सचेत छौं ।’





