दाङ : दाङको बबई नदीमा नुहाउने क्रममा सोमबार दिउँसो डुबेर बेपत्ता भएका दुवैजनाको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिलसिंह ठकुरीका अनुसार, तुलसीपुर उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगर र तुलसीपुर–७ का १७ वर्षीय विधान केसीको शव फेला परेको हो ।
बबई गाउँपालिका–५ स्थित पुरन्धारा छहरा अवलोकनका लागि गएका उनीहरू छहरा नजिकैको बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले बेपत्ता दुई किशोरको शव खोजी गर्ने क्रममा फेला परेको बताए ।
हाल दुवैको शव तुलसीपुर ल्याउने तयारी भइरहेको छ । मृतक दुवैजना तुलसीपुरको एक कलेजमा अध्ययनरत थिए । उनीहरू साथीहरूसँगै घुम्न भनेर त्यहाँ पुगेको प्रहरीले जनाएको छ । ६ जना साथीहरू पुरन्धरा झरना अवलोकनका लागि पुगेका थिए ।
नुहाउन भनेर पहिले विधान नदीमा पसेपछि बगाएको थियो । साथीलाई बचाउन भन्दै कुशल पनि नदीमा हाम फालेका थिए । त्यसपछि कुशल पनि बेपत्ता भएका थिए । उनीहरू बेपत्ता भएको खबर पाएलगत्तै जिल्लाबाट गोताखोरको टोली त्यस स्थानमा पठाइएको थियो । स्थानीयवासीको सक्रियतामा बेपत्ता दुवैजनाको खोजी गर्ने क्रममा बेपत्ता भएको स्थानबाट १० किलोमिटर तल शव भेटिएको प्रहरीले जनाएको छ । रासस





