बागलुङ : निसीखोलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ झिम्पाका ५० वर्षीय कमल विकको आज दिउँसो भिरबाट लडेर मृत्यु भएको हो ।
कपासे भिरमा घाँस काट्ने क्रममा उनको लडेर मृत्यु भएको निसीखोला गाउँपालिका–४ अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए । विक भिरबाट करिब पाँच सय मिटर तल खसेको उनको भनाइ छ । विक भिरबाट लडेपछि उनीसँगै गएका साथी रामबहादुर घर्तीले स्थानीयलाई खबर गरेपछि गाउँले घटनास्थलमा पुगेर उद्धार गर्दा मृत्यु भइसको अध्यक्ष पौडेलको भनाइ छ ।
भिरबाट लडेका विकको स्थानीयको खोजी कार्यपछि फेला परेको उनले बताए । अध्यक्ष पौडेलले भने, “धेरै अग्लो ठाउँबाट लडेका रहेछन्, लडेको थाहा पाउँदा साथ गाउँलेहरू सबै गएर खोजी गर्यौँ, खोजी गर्दा लडेको ठाउँबाट धेरै तल शव फेला पर्यो ।”





