हेटौँडा : बागमती प्रदेश कांग्रेस संसदीय दलबाट अविश्वासको प्रस्ताव पारित भएपछि मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामाले आफ्नो मन्त्रीहरू सबैलाई नेताले करकापमा पारेको अभिव्यक्ति दिएका छन्।
लामाले आफ्नै मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरू असन्तुष्ट हुँदै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुमा नेताहरूले करकापमा पारेर गर्न लगाएका बताएका हुन्। अविश्वासको प्रस्ताव पारित भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री लामाले नेपाली कांग्रेसका नेताहरूले प्रपञ्च रचेर अविश्वासको प्रस्ताव दर्ता गर्न निर्देशन दिएको आरोप लगाए।
‘मैले त सबैलाई मिलाएर जाऔँ भनेकै थिएँ, तर यहाँ त सांसददेखि नेताहरूसम्मले मविरुद्ध प्रपञ्च रचेका रहेछन्,’ लामाले भने, ‘मेरै क्याबिनेटमा बसेका मन्त्रीहरू पनि कसैको जालोमा फसेका रहेछन्। कसैको धेरै प्रेसर पनि रहेछ। सोही कारण उहाँहरूले अर्को पक्षलाई सघाउन तयार बन्नुपर्ने अवस्था आयो।’
लामाले आफ्नो दलको नेताबाट पदगए पनि मुख्यमन्त्रीबाट भने राजीनामा नदिने बताएका छन्।









