काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन एमाले बागमती प्रदेश संसदीय दलले ह्विप जारी गरेको छ ।
दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले आइतबार सूचना जारी गर्दै साउन २७ गतेको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री बानियाँले साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा नेपालको संविधानको धारा १६८(४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३(१) अनुसार विश्वासको मत लिने कार्यसूची रहेको छ ।
बैठकअघि दिउँसो १ बजे एमाले संसदीय दलको बैठक दलको कार्यालयमा बस्ने भएकाले सबै सांसदलाई उपस्थित हुन सूचनामा भनिएको छ । ११० सदस्यीय बागमती प्रदेश सभामा विश्वासको मत पाउन ५६ मत आवश्यक छ ।





