कञ्चनपुर : हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि मात्र चिनिएको छैन, यो राष्ट्रिय निकुञ्ज चराचुरुङ्गीका दृष्टिकोणले पनि अद्वितीय मानिन्छ । निकुञ्जमा ४६५ प्रजातिका चरा पाइन्छ । तीमध्ये १९ प्रजाति विश्वमै दुर्लभ श्रेणीका चरा यहाँ पाइन्छ।
जसमा विश्वमै दुलर्भ सिमतित्रा, सारस, भुँडीफोर गरुड, खर मजुर, सानो खरमजुर, सेतो गिद्ध, डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध, बोक्सी चिल, जीवहारा महाचिल, लघु महाचिल, सानो बौडाइ, राज लहाँचे, सेतो कण्ठे धिप्सी, कासेघाँसे, बरी, नरक भ्याकुर, सुनौलो तोप चरा, बगाल बगेडीलगायत चरा निकुञ्जमा पाइन्छ ।
नेपाल पंक्षी संरक्षण संघ (वीसीएन) का चराविज्ञ हिरुलाल डगौराका अनुसार ती दुर्लभ प्रजातिमध्ये सबैभन्दा संकटापन्न अवस्थामा खरमजुरछ। निकुञ्जमा यो चराको संख्या निकै कम छ । घाँसे मैदानमा बासस्थान बनाउने यो चरा शुक्लाफाँटाको पहिचानसँगै जोडिएको छ ।यस्तै सुनौलो तोप चरा त शुक्लाफाँटामा मात्र पाइन्छ । घाँसे मैदानदेखि लालपानी, मोहनपुर, सिंहपुर जस्ता क्षेत्रमा यसको उपस्थिति देखिन्छ ।
घाँसेमैदान र सिमसार क्षेत्र नजिकका काँटेदार रुखहरूमा यो चराले गुँड लगाउँछ । एउटै रुखमा यो चराका दर्जनौँ गुँड रहने गर्दछन् । ठूलो धनेस र राजलहाँचे जस्ता प्रजाति भने निकुञ्जको घना सालको जङ्गलमा पाइने चराविज्ञ डगौरा बताउँछन् । हिउँदमा बसाइँ सर्ने क्रममा आउने सेतो कण्ठे धिप्सी, ताल–तलाउ वरिपरि बस्ने सारस तथा विभिन्न किसिमका गिद्धहरू पनि यहाँ पाइन्छ ।
निकुञ्जमा गिद्धका आठ प्रजाति पाइन्छ, जसमध्ये चार प्रजाति डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र सेतो गिद्ध अति संकटापन्न अवस्थामा छन् । डङ्गर गिद्धको संख्या केही बढेको भए पनि बाँकी प्रजातिहरूको संख्या अत्यन्तै न्यून रहेको चराविज्ञ डगौरा बताउँछन् । निकुञ्जमा पाइने गिद्धका प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को रातो सूचीमा सूचीकृत छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हिउँदमा बसाइँ सारेर आउने चराहरूको गन्तव्यका रूपमा रहेको छ । कैले टाउके हाँस जस्ता दुर्लभ जलपंक्षी हिउँद याममा यहाँको तालतलाउमा आउँछ । नेपाल पंक्षी संरक्षण संघले गरेको पछिल्लो सर्वेक्षणअनुसार निकुञ्ज र आसपासका सिमसार क्षेत्रमा करिब पाँच हजार ८८२ जलपंक्षी पाइएका थिए ।
हिउँदयाममा सिमसार क्षेत्र चराले भरिभराउ हुने हुँदा यो निकुञ्ज पंक्षी अवलोकनकर्ताका लागि पनि आकर्षण केन्द्र बनेको छ । ३०५ वर्गकिलोमिटरमा फैलिएको निकुञ्जमा ७१ प्रतिशत भाग वनले ढाकेको छ, जसमा सालको वन ८० प्रतिशतभन्दा बढी छ । यिनै वन र घाँसेमैदान चराको मुख्य बासस्थान हुन् ।
चराविज्ञ डगौराका अनुसार तालतलाउ जलकुम्भी र नरकटले ढाकिँदै गएर चराको खेल्ने ठाउँ साँघुरिँएको छ । घाँसेमैदानमा चराको प्रजनन हुने वेला वैशाख–जेठतिर डढेलो लाग्दा गुँड र बासस्थान नष्ट हुन्छन् । निकुञ्ज बाहिरका सिमसार क्षेत्र अतिक्रमण, खेतीपाती र संरचनात्मक विकासका कारण झन् संकुचित बन्दै गएका छन् ।
सामुदायिक वनमा हुने वृक्षरोपण पनि अर्को चुनौती बनेको छ । विज्ञका अनुसार घाँसे फाँटमै प्रजनन गर्ने चरालाई यो कार्यले नोक्सान पुर् याइरहेको छ । ‘घाँसको फाँटमै धेरै चराले गुँड बनाउँछन्, त्यहाँ रुख लगाइएपछि उनीहरूको बासस्थान हराउँछ’, डगौराले भने ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम बाग्लेका अनुसार निकुञ्जभित्र दुर्लभ चराको संरक्षणका लागि कार्य अगाडि बढाइँदै आएको छ । घाँसेमैदानमा बासस्थान भएका चराको बासस्थानलाई डढेलोले बढी क्षति पुर्याउने गरेको देखिएको छ ।
कहिलेकाहीँ हुरीबतासले गर्दा लाग्ने ठूलो डढेलोले रुखमा गुँड बनाउने चरालाई पनि समस्यामा पार्ने गरेको छ । चोरी–शिकार नियन्त्रण गर्न १४ वटा निकुञ्ज पोष्ट र नेपाली सेनाका १९ वटा पोष्ट स्थापना गरिएको छ । अहिलेसम्म दुर्लभ चराको चोरी–शिकार भएको आधिकारिक तथ्याङ्क नभएको उनको भनाइ छ ।





