काठमाडौं : रुपन्देही-३ मा उपनिर्वाचनको सरगर्मी बढिरहेका बेला नेताहरू दल परिवर्तनतर्फ लाग्न थालेका छन्।
गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही-१ मा १३,९६२ मत ल्याएर प्रभावशाली देखिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का पूर्व जिल्ला अध्यक्ष धनिराम चौधरीसहित केन्द्रीय तथा प्रदेशस्तरका दर्जनौँ नेताहरू आइतबार सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन्।
पार्टी प्रवेशलाई रुपन्देही-३ को उपनिर्वाचनमा आफ्नो पक्षमा माहोल बनाउने जनमत पार्टीको रणनीतिक मास्टरस्ट्रोकका रूपमा हेरिएको छ। थारु र मधेशी समुदायमा बलियो पकड मानिने उन्मुक्ति पार्टीका महत्त्वपूर्ण नेताहरूलाई चुनावको मुखमा आफ्नो पार्टीमा भित्र्याएर जनमतले बलियो मनोवैज्ञानिक र सांगठनिक लाभ लिएको छ।
जनमत पार्टीमा प्रवेश गर्नेहरूमा चौधरीका साथै थारु कल्याणकारी सभाका प्रदेश सचिव कमल नारायण चौधरी, नाउपाकी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला महिला अध्यक्ष सरस्वती थारु, प्रदेश सदस्य गौरी यादव र केन्द्रीय सदस्य श्रीरामकुमार चौधरी लगायत सयौँ कार्यकर्ता रहेका छन्।





