कञ्चनपुर : सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने संघारमा पुगेको छ । वीरविरङ्गनाहरूको गीति कथामा गरिने नृत्य पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर निवासी ५० वर्षीय गङ्गाराम दमाई हुडकेली नृत्यमा निपूण भए पनि यस नृत्यको माग कतैबाट नआउँदा निकै चिन्तित छन् ।
उनले बाजेबाट हुडके (ठूलो डमरुजस्तै बाजा) बजाउने र हुडकेलीमा गीतिकथा गाउने कला सिकेका हुन् । “धार्मिक कार्य, विवाह, व्रतबन्ध, न्वारन, छैटी, अन्नप्राशनलगायत शुभ अवसरमा हुडकेली नृत्यको निकै माग हुन्थ्यो”, उनले भने, “बाजेबाटै १७ वर्षकै उमेरमा हुडकेली लगाउने कला सिकेको हुँ, मौखिक रूपमा इतिहासका पात्रहरू ९वीरविरङ्गनाहरू०को कथा गीतमा ढालेर रोचक तरिकाले प्रस्तुत गरिन्थ्यो, निकै सुन्ने गर्दथे, अहिले यो नृत्य ओझेलमा परेको छ ।”
“पहिले वर्षमा धेरै ठाउँमा बोलाइन्थ्यो, अहिले वर्षमा एकपटक पनि हुडकेली नाच्न माग हुँदैन”, उनी थप भन्छन् । डडेल्धुराको अजयमेरु गाउँपालिका–२ बसना गाउँमा जन्मिएका गङ्गाराम २५ वर्षको उमेरमा तराई झरेका हुन् । उनले हुडकेली कला पनि साथमै ल्याउनुभयो तर यसैमा जीवन धान्न भने नसकिएको अनुभव सुनाए । उनका अनुसार पहिलाका दिनमा हुडकेली विशेषगरी हुनेखाने परिवारले मात्र लगाउँथे । हुडकेली प्रदर्शनबापत कलाकारलाई पाथी चामल, खसी, बोका दिने चलन थियो ।
ताउला भादला, चरुलगायत भाँडाकुँडा दिने प्रचलन पनि थियो । त्यतिबेला हुडकेलीमै जीविका चल्थ्यो । तर, आधुनिक रहनसहन, वेशभूषा र जीवनशैलीसँगै यो परम्परा बिस्तारै हराउँदै गएको छ । “पुरानो पुस्ताले हुडकेली गाए, नाचे, नयाँ पुस्ताले सिक्नै चाहेन”, गङ्गाराम भन्छन्, “अहिले सबैलाई आधुनिक साउण्ड सिस्टम, व्याण्डबाजाको मोह छ, त्यसैले हुडके बाजा पाउन पनि मुस्किल भएको छ ।”





