काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा व्यवसाय गर्न चाहने सामाजिक सञ्जालले नेपालको कानून मान्नुपर्ने बताएका छन् ।
नेपालको कानून मान्न, दर्ता भएर ट्याक्सको दायरमा आउ भन्नका लागि मात्र सामाजिक सञ्जाल बन्द गरिएको उनले बताए । एमाले विधान महाधिवेशन अन्तर्गत तेस्रो दिनको बन्दशत्रलाई आइतबार गोदावरीमा सम्बोधन गर्दै ओलीले अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्न नभई सञ्जाललाई नेपालको कानूनको दायरामा ल्याउन खोजिएको बताएका हुन् ।
‘केही बुद्धिजीवीले सरकार जनताको म्यासेज सुन्दैन, म्यासेन्जर बन्द गर्छ भनेर भनेछन्, त्यस्ता ढाँट बुद्धिजीवी देखेर दया लागेर आउँछ । उनीहरू (सञ्जाल) नेपालमा व्यापार गर्न आउने तर नेपालको कानून मान्न नपर्ने ? कर र कानूनको दायरामा आउनु नपर्ने ?,’ ओलीले भने, ‘उनीहरूले नेपाललाई हेप्ने । बुद्धिजीवी भनिएकाले उनीहरूको पक्षमा वकालत गर्ने ?’
प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाभिमानलाई अपमान गर्ने कुरा स्वीकार्य नहुने बताए । ‘सामाजिक सञ्जाललाई कानूनअनुसार, चल भन्दा स्वतन्त्रता हनन् हुन्छ ?,’ ओलीले भने, ‘राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानमा सम्झौता गर्न सकिँदैन । मलाई हेपेको सहन्छु, राष्ट्रलाई हेपेको सहन्न ।’





