काठमाडौं : जेनजी आन्दोलनका क्रममा सरकारी भवनहरूमा व्यापक क्षति पुगेको भएतापनि नियमित तलबभत्ता दिन कुनै रोकावट नरहेको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपाल राष्ट्र ब्याङ्कको सबै कुरा सुरक्षित रहेको राष्ट्र ब्याङ्कका प्रवक्ता किरण पण्डितले जनाकारी गराएका छन् । सर्वसाधारण निक्षेपकर्ताको रकम पनि सुरक्षित रहेको राष्ट्र ब्याङ्कले जनाएको छ । ब्याङ्करले पनि राष्ट्र ब्याङ्कलाई ठूलो क्षति नभएको बताएका छन् ।
अर्थमन्त्रलय अन्तर्गतका अनलाइन प्रणालीहरू यथावत् चलिरहेका छन् । अर्थ मन्त्रालयका प्रवक्ताका अनुसार तलबभत्ता रोकिने भन्ने केही छैन । मन्त्रालयले कुनै निर्णय नहुँदासम्म तलबभत्ता पहिलेकै रूपमा यथावत् रहने जनाएको छ । हाल नेपालमा ८५ हजार निजामती कर्मचारी रहेका छन् । जसमा शिक्षकहरू १.६८ लाख, सैनिक ९७ हजार, सशस्त्र प्रहरी ३८ हजार तथा नेपाल प्रहरी ८० हजार रहेका छन् ।
उनीहरूको नियमित तलब नै मासिक अर्बौँ रुपैयाँ पुग्ने देखिन्छ । असार मसान्तको आँकडा हेर्दा सरकारको राष्ट्र ब्याङ्कमा रहेको खातामा १ खर्ब ३० अर्ब रुपैयाँभन्दा धेरै नगद मौज्दात देखिन्छ । केन्द्रीय ब्याङ्कले पनि तलबभत्ता दिनलाई समस्या नहुने बताएको छ ।





