काठमाडौं : सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
जिल्लाको शारदा नगरपालिका– १०, भागाचौरबाट थापाचौर जन्ती जाँदै गरेको लु प्र ०२ –००१ ज ००२१ नम्बरको जिप शारदा–९, ज्वालापुरमा दुर्घटना भएको हो। घाइते हुनेमा शारदा– १० भागाचौरकी ६० वर्षीया गुमी कँवर, १४ वर्षीया शोभा कँवर, १४ वर्षीया हरिकला कँवर, २० वर्षीया दुलही कमला गिरी, १८ वर्षीय प्रवीण कँवर, १४ वर्षीया रेनुका कँवर र १७ वर्षीय हेमराज कँवर रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
यस्तै, २६ वर्षीया कुमारी बुढाथोकी, वडा नं ९ की ४२ वर्षीया प्रमिला गिरी, दुलाहा २४ वर्षीय चेतराम गिरी, १५ वर्षीया विमला गिरी र ३३ वर्षीय रूपलाल गिरी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।
घाइतेहरू सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जिप अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।





