काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गते मुलुक जलेका बेला आफू र आफ्नो परिवारमाथि ज्यानै मार्ने मनसायले हमला गरिएको टिप्पणी गरेका छन्।
मंगलबार कांग्रेसको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। ‘सिंगो मुलुक जलेको बेला म र मेरा परिवार माथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरियो । घरमा तोडफोड, लुटपाट र आगजनी गरे,’ देउवाले भने, ‘सुरक्षाकर्मीको घण्टौंको अथक प्रयाशपछि हामीलाई उद्धार गरिएको थियो।’
आफू र आफ्नो परिावारले भोगेको त्रासदीपूर्ण आक्रमण सबैले देखेको पनि उनले बताए। ‘म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्यो तपाईँहरू जानकार नै हुनुहुन्छ । त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छबि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरियो,’ देउवाले भने।
‘तपाईँहरूको माया, प्रार्थना र कामनाले उपचारपछि यो बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको छु,’ देउवाले अगाडि भने, ‘मेरा राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरू सम्झदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउनसक्छ केवल सामना गर्ने साहस राख्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ।’
घटनालाई सामान्य रूपमा आफू र आफ्नो परिवारमाथि भएको ठानिए पनि यो राजनीतिक दलका अनगिन्ती सदस्यमाथिको आक्रमण रहेको देउवाले टिप्पणी गर्दै उनले भने, ‘समग्रमा हेर्दा देश, पद्धति र पार्टी माथिको आक्रमण नै हो भन्ने मेरो ठहर छ।’
उनले बैठकबाट आक्रमणकारीहरूको कब्जाबाट आफूलाई बचाउने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई हृदयदेखि धन्यबाद ज्ञापन गरे। उनले भने, ‘साथै जीवनभर स्मरण गरिरहनेछु।’





